Logo

बङ्गलादेश : रोहिङ्ग्या शरणार्थी शिबिरमा आगलागी हुँदा हजारौं आश्रयविहीन



कोक्स बजार, बङ्गलादेश, २२ पुस । बङ्गलादेशको शिविरमा भएको आगलागीका कारण करिब ८०० घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् ।

बङ्गलादेशमा करिब १० लाख रोहिङ्ग्याहरू बसोबास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिणपूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो । रहमानले भने, “कम्तीमा ७११ आश्रयस्थल पूर्ण रुपमा जलेका छन् भने ६३ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

आगलागीका कारण चार हजार मानिस घरबारविहीन भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए । उनले भने, “यो आगजनी हो । हामीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छौँ ।”

‘भीषण आगलागीले धेरै शरणार्थी आश्रयस्थलमा क्षति पु¥याएको’ र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)ले ‘प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको’ बताएको छ ।

विशेषगरी नोभेम्बरदेखि अप्रिलसम्म सुख्खा याममा बङ्गलादेशका दर्जनौं रोहिङ्ग्या शरणार्थी शिविरमा डढेलो पनि लाग्ने गरेको छ । तर धेरै शिविरहरू प्रतिद्वन्द्वी रोहिङ्ग्या समूहहरूबीचको हिंसाबाट पनि प्रभावित छन् ।

प्रहरीका अनुसार शिविरमा गत वर्ष ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको थियो र यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो ।

सन् २०२३ को मार्चमा विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्तीमध्येको एक कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार भन्दा बढी टहरा जलेर नष्ट भएका थिए ।

दुई वर्षअघि सोही शिविरमा भएको आगलागीमा परी कम्तीमा १५ रोहिङ्ग्याको मृत्यु भएको थियो भने अन्य ५० हजार शरणार्थी घरबारविहीन भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot