काठमाडौं, २४ पुस । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको छ । महानगरले घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई कारबाहीसमेत सुरु गरेको छ ।
कार्यविधिले घरपालुवा कुकुर विरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ ।
घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नु पर्नेछ । जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेका पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।