Logo

आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा नियुक्त



काठमाडौं, पुस २५ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन् ।

धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका थियो । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।

म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका बेला यसै साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।

फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेका छन् । जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाएका छन्।

सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो ।

एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

एटलको अधिक लडाकू शैली उनका पूर्ववर्ती बोर्नको विपरित हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए ।

एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड सजिलै तोडेका छन् । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्