काठमाडौं, पुस २५ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अहिले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक, साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच भएको सम्झौताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री, सचिव (कृषि विकास), कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाल लगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।