काठमाडौं, २५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अहिले प्रतिगामीहरुले टाउको उठाउन थालेको टिप्पणी गरेका छन् । उनले इतिहासको रथलाई पछाडि धकेल्ने काम गर्न नहुने टिप्पणी गरे । उनले राजा ल्याउँदा देशले के पाउँछ ? भन्दै प्रश्न पनि गरे । उनले राजतन्त्र किन फालियो भनेर राम्ररी चिन्तन गरे त्यसबारे थाहा हुने पनि बताए ।
आज (बुधवार) पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘इतिहासको रथलाई पछाडि धकेल्ने, राजालाई फर्काएर ल्याउने’, अध्यक्ष नेपालले भने, ‘राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले किन फाल्यौ । यसबारेमा राम्ररी चिन्तन गर्नुभयो भने बुझ्नुहुन्छ । हिजो किन त्यसो भनिन्थ्यो भने कांग्रेसलाई त्यसबेला देशभक्त शक्तिको रूपमा लिने गरेका थिएनन् । अझै पनि त्यसका बारेमा विदेशीको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको छ ।’
सो क्रममा उनले समाजवादको मान्यता साझा भएपनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको टिप्पणी गरे । उनले समाजवादको जित सुनिश्चित रहेको दाबी गरे । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी गरे । उनले राजतन्त्र फर्केर आउने किसिमको गतिविधिप्रति सतर्क हुँदै चुनौतीको सामना गर्न सक्नुपर्ने बताए ।
उनले पार्टीलाई अघि बढाउनको लागि विद्यार्थीहरु आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले कसैले विद्यार्थीहरुलाई भ्रममा राख्न खोज्यो भने त्यसबाट मुक्त हुनुपर्ने पनि सुझाव दिए । उनले आफ्नो पार्टीका विरोधमा अनेकौं खालका भ्रम फैलाउन खोजेपनि ती भ्रमबाट मुक्त हुन पनि विद्यार्थीहरुलाई सुझाए ।