Logo

आगलागीमा घरगोठसहित पैँतालिस खसीबाख्रा मरे



खोटाङ, २५ पुस । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर मरेका छन् । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट गएराति सुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको छ ।

गएराति करिब ८ः१५ बजे सुरु भएको आगो राति १२ बजेमात्र नियन्त्रणमा लिन सफल भएको खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताए । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको दुईतले घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीमा घरसँगै दुई लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको पीडित चौलागाईंले बताए । “गोठमा पालिएको ४५ वटा खसीबाख्रा पनि आगोमा परेर मरे । स्थानीयवासी र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भए”, उनले भने, “भैँसीको अर्को पाडोे जलेर मरेको छ । करिब एक सय ५० मुरी त अन्न मात्रै जलेको छ ।”

घर जलेर नष्ट भएपछि चौलागाईंको पाँचजनाको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताए । “अहिले उहाँहरु छिमेकीको घरमा बसिरहेका छन् । घरमा एक बच्चामात्र भएको बेला अर्कैले आगो लगाइदिएछ”, उनले भने, “बुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।

गाउँकै सबैभन्दा राम्रो किसानको हालसम्मको मेहनत जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकल पनि लगियो तर सकिएन । त्यो समय गाउँमा प्रायः छोरा मान्छे सबै एउटा सिँचाइ योजनाका लागि गएका रहेछन् ।”

पीडित परिवारलाई तत्काल र दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताए । “गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौँ”, उनले भने, “तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालीन समस्या कसरी समाधान गर्ने भनेर हामी छलफल गर्छौं । विपद्मा परेका पीडित परिवारलाई सहयोग गर्न सबैले हातेमालो गर्न गाउँबासीसँग अपिल गरेका छौँ ।”

आगलागीबाट चौलागाईं परिवारको २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । उनको घर तथा गोठमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशङ्कामा एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताए । रासस



प्रतिक्रिया दिनुहोस्