डडेल्धुरा, पुस २७ । परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।
आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाम खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ । मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु। दोस्रो युद्ध विरामका बेला विपिनको रिहाइ हुने विश्वास छ।’
कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको जानकारी दिदै मन्त्री साउदले अगाडी थपे, पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’
मन्त्री साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी दिएका छन्। कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताउँदै मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए।
‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’
उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनितिक पहलबाट टंग्याउने प्रयास भइरहेको उनको भनाई छ।
मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गर्दै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको जानकारी दिए। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रुक हुने बताए।
मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसालगायतमा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको बताए। उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको जानकारी दिए। शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल भइरहेको उनको भनाइ छ।