Logo

चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय



चितवन, २७ पुस । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ पढ्न आउने धेरै विद्यार्थी विपन्न परिवारका छन् । जिल्लाको ग्रामीण भेग तथा अन्यत्रबाट यहाँ आएका कामदारदेखि कर्मचारीका छोराछोरी उक्त विद्यालयमा अध्ययन गर्दछन् । विभिन्न ठाउँबाट सर्दै हाल यो विद्यालय भरतपुर महानगरपालिका–१० मा रहेको छ ।

“विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ४० प्रतिशत रोजगारीको सिलसिलामा आएका परिवारका सदस्य रहेका छन्”, अध्यक्ष अधिकारीले भने । सात दशक पार गरेको उक्त विद्यालयले विभिन्न उतारचढावका बीच पछिल्ला वर्षमा लय समातेको छ । आर्थिक हिसाबले पनि विद्यालय सम्पन्न छ । सरकारी विद्यालय भएकाले निःशुल्क शिक्षा र शैक्षिक गुणस्तर वृद्धि गरेका कारण विद्यालयमा विपन्न परिवारका विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।

गत वर्षको एसइईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालय कक्षा १२ को परीक्षामा जिल्लाको सर्वोत्कृष्ट बन्न सफल भएको थियो । अध्यक्ष अधिकारीले भने, “अन्य सामुदायिक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गराउने गरेका छन्, यस विद्यालयले निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।”

शिक्षा क्षेत्रमा अनुभव हासिल गरेका अधिकारीले विगत झण्डै तीन वर्षदेखि यस विद्यालयको नेतृत्व सम्हाल्दै आएका छन् । आफूहरु आएसँगै भौतिक पूर्वाधार निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसी क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उनले बताए ।

प्रध्यानाध्यापक चिरञ्जीवी शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाकदेखि न्यानो कपडासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ । उनले भने, “कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छौँ ।”

विद्यालयमा हाल आधारभूततर्फ चार सय ५७ र माध्यमिक विद्यालयतर्फ दुई सय ८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्करुपमा उपलब्ध गराउन सकेको छ । उक्त विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाइ हुँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot