Logo

मधेशलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको सुखद सुरुआत



काठमाडौं,१ माघ । कप्तान विनादे भण्डारीको शानदार शतकप्रेरीत विभागीय टिम त्रिभुवन आर्मीले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुखद सुरुआत गरेको छ ।

सुखद सुरुआत गर्नेक्रममा मधेश प्रदेशलाई आर्मीले १२६ रनको फराकिलो अन्तरले हराएको छ । आर्मीले दिएको ३२१ रनको विशाल लक्ष्य पछ्याएको मधेश ४७.४ ओभरमा १९४ रनमा अलआउट भयो ।

मधेशका लागि पवन सर्राफले ६५, मयन यादवले ३४ र राजेश यादवले ३४ रन जोडे । रुपेश सिंहले १८ रन थप्दा विशाल पट्टेलले १७ रन थपे । बलिङतर्फ आर्मीका साहव आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।

यसअघि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन जोडेको थियो । आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १३४ रनको शतकीय साझेदारी गरिरहेका थिए । भण्डारी ११३ रनमा आउट भएका थिए ।

त्यस्तै विवेक यादव र कुशल मल्लले समान ३७ रन जोड्दा सन्तोष कार्की ४२, इमरान शेखले २६ र भीम सार्कीले १८ रन जोडे । वसिर अहमदले १६ रन थप्दा आर्मीले अतिरिक्तमा पनि १६ रननै पाएको थियो ।

बलिङतर्फ मधेशका रञ्जित कुमारले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चिएर ५ विकेट लिँदा विशाल पट्टेलले २ विकेट लिए । मधेशले पहिलो खेलमा कोशीलाई हराउँदा आर्मीको यो पहिलो खेल हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot