Logo

सांसद खड्काको पहलमा भित्रियो २५ अर्ब रुपैयाँ बैदेशिक लगानी



काठमाडौं, माघ २ । नेपाली कांग्रेसका नेता एवम् संखुवासभाका सांसद दिपक खड्काको पहलमा २५ अर्ब रुपैयाँ बैदेशिक लगानी नेपाल भित्रिएको छ ।

कांग्रेस सांसद खड्काले रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनामार्फत २५ अर्ब बराबरको वैदेशिक लगानी नेपालभित्र्याएका हुन् । कूल १२० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक दीपक खड्काले चीनको बैंक अफ चाइनाबाट झण्डै २४ अर्ब ९५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएका हुन् ।

आयोजनामा संस्थापक लगानीकर्ताहरुले पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा स्वपुँजीका रुपमा पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर भित्रीसकेको छ । १९ अर्ब ८५ करोड ७० लाख बराबरको रकम भने ऋणमा ल्याइएको हो । सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ । सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा प्रदान गरेको थियो ।

आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको दस प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवद्र्धक कम्पनी लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैँक सिचुआन शाखाबीच गत पुस २३ गते सम्झौता भएको थियो ।

कांग्रेस सांसद खड्काको पहलमा अगाडि बढाइएको उक्त आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । विसं २०७६ पुसमा शिलान्यास भएको उक्त आयोजना निर्माणको काम अहिले धमाधम भइरहेको छ । सांसद खड्काले देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने लक्ष्यका साथ आफूले ऊर्जा क्षेत्रमा लगानी भित्र्याएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्