काठमाडौं, माघ २ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले तेस्रो पटक फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा मेस्सी तेस्रो पटक जितेका बनेका हुन् । उनले आठ पटक बलोन डी ओर अवार्ड जितिसकेका छन् ।
मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । प्रतिस्पर्धामा नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे पछि परेका छन् ।
मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए । मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।
यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् ।