Logo

अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित, तीन खेल खेल्दा कोशी अझै जित विहीन



काठमाडौं,२ माघ । विभागीय टिम नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा कोशीलाई पुलिसले सात विकेटले हराएको हो ।

कोशीले दिएको १६७ रनको सामान्य लक्ष्य पुलिसले २३.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि ओपनर अर्जुन साउदले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले ३ छक्का र २ चौका हिर्काए ।

त्यस्तै दीपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहँदा दिलिप नाथले ३१, सुनिल धमलाले १६ र कुशल भूर्तेलले १२ रन थपे ।

यो पुलिसको लगातार दोस्रो जित हो भने कोशीले लगातार तेस्रो हार भोगेको छ । यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शानदार शतकमा १६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ४८।२ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो । कोशीका लागि सुजन थपलियाले शानदार शतकीय पारी खेले । टिमका लागि वान म्यान आर्मीको भूमिकामा रहँदै सुजनले शतक प्रहार गरेका हुन् । उनले १२६ बलको सामना गर्दै ८ छक्का र ६ चौका हिर्काउँदै १०५ रनकबो शानदार पारी खेले । ६४ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा मैदान छिरेका सुजनले अभ्यास तिमिल्सिनासँग मिलेर शानदार प्रदर्शन गरेका हुन् । अभ्यास २३ रन बनाएर आउट भए ।

सुजनको शतक यस संस्करणको पीएम कपको चौथो शतक हो । यसअघि रसिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए । बलिङतर्फ पुलिसका करण केसीले तीन तथा सुनिल धमला र ललित राजवंशीले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot