काठमाडौं, माघ ५ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औं संस्करण आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने प्रतियोगिताको पहिलो दिन आज अमेरिका र आयरल्याण्ड तथा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच खेल हुँदैछ ।
प्रतियोगितामा नेपाल सहित १६ वटा टोलीको सहभागिता जनाएका छन् । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा सहभागी टोली मध्ये नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्याण्डसँग, जनवरी २४ तारिखमा दोस्रो खेल पाकिस्तानसँग र जनवरी २७ तारिखमा अफगानिस्तानसँग तेस्रो खेल खेल्ने छ ।
यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू–१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई–दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।