काठमाडौं, ६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनका सबै घटकहरू यतिवेला पुँजीवादका सहयोगी भइरहेको आरोप लगाएका छन् । पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेसलाई साथ लिएर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने संस्थापक महासचिव पुष्पलाललाई गद्दार भन्ने मोहन विक्रम सिंह अहिले श्रीमतिलाई राष्ट्रिय सभामा पुर्याउन कांग्रेसको दलाली गर्ने अवस्थामा पुगेको उनको आरोप छ ।
पोखरेलले समाजवाद लक्ष्य हो भन्ने कम्युनिष्टहरू पुँजीवादको विरुद्धमा जानुपर्नेमा पुँजीवाद र यथास्थितिवादीको दलाली गर्दै राजनीतिक इतिहास पतनको बाटोमा रहेको विचार व्यक्त गरे । उनले सशस्त्र आन्दोलनको समयमा माओवादीका कार्यकर्ताहरू समाज परिवर्तनको समर्पणभावका साथ सङ्घर्षमा लागे पनि माओवादी नेताहरूको भने त्यसबेलै दरबारसँग हिमचिम रहेको सुनाए । महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार नेपालको इतिहासमा सबैभन्दा कमजोर र निरिह सरकार भएको बताए । उनले अहिलेजस्तो राष्ट्रियता कमजोर कहिले भएको थिएन भन्ने दाबी गरे ।
गोरखामा क्रियाशील माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका नेताकार्यकर्तालाई पार्टीमा प्रवेश र स्वागतका लागि माघ ५ गते शुक्रबार आयोजित कार्यक्रममा महासचिव पोखरेले पृथ्वीनाराणण शाहको गौरवमय इतिहास बोकेको गोरखाबाट निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सार्वभौमसत्ता कमजोर बनाएर गोर्खालीहरूको अपमान गरेको, गोर्खालीहरूलाई लज्जित बनाएको बताए ।
महासचिव पोखरेलले भारतका विदेशमन्त्री एस जयशङ्करको हालै भएको नेपाल भ्रमणका समयमा भारतले नेपालमा २० करोड रूपियाँसम्म सिधै खर्च गर्नसक्ने सम्झौता गरेर सरकारले आफ्नो कार्यकारी अधिकार अरूलाई सुम्पने नालायकी काम गरेको बताउँदै महासचिव पोखरेलले प्रश्न गरे–”कुनै एउटा पालिकामा २० करोड रूपियाँको आयोजना सञ्चालन हुन्छ भने त्यो पालिका र त्यहाँका जनताले नेपाल सरकारलाई खोज्छन् कि दूतावासलाई ?” file photo