वासिङ्टन, ७ माघ । इरान समर्थित लडाकू समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
पश्चिमी इराकमा इरान समर्थित लडाकूले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।
अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन् ।”
गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन् ।
गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ ।
उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।
ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको सङ्केत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निशाना बनाइएको थियो ।
गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो । इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।
गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा ‘यहुदी शासन ९मोसाद० का गुप्तचरहरूले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो ।
वासिङ्टनले कैयौँ पटक आक्रमणहरू गरेको छ, जुन उसले थप वा जारी आक्रमणहरू रोक्नको लागि भएको बताएको छ । पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौं अमेरिकी सैनिक सामान्य घाइते भएका छन् ।
इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक छन् । रासस