Logo

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति



काठमाडौं,८ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो ।

तालमेलको सहमति अनुसार राप्रपाले उठाएको अन्यतर्फका उम्मेदवार उद्धव पौडेललाई एमालेले सघाउने र राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई सघाउने सहमति भएको हो ।

गठबन्धनका तर्फबाट कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रबाट चम्पा कार्की उम्मेदवार रहेका छन् । सत्तारुढ दलको प्रष्ट बहुमत रहेको हुँदा राप्रपा र एमालेबीचको तालमेलले पनि असर नगर्ने सत्तारुढ दलको दाबी रहेको छ ।

कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले-राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४ हजार ६९९ हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot