Logo

माओवादीसँग निर्णायक छलफलमा एमाले नेताहरु, प्रचण्डसँग डिल गर्न विष्णु पौडेललाई जिम्मा



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का शीर्ष नेताहरुले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि जुनसुकै बेला निर्णायक आन्दोलनमा जानसक्ने हुन्छ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका एमाले अध्यक्ष ओलीले भने आज (मंगलबार) बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग सामूहिक र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

एमालेको सिंगो नेतृत्व पँक्तिसहित बालुवाटार पुगेका ओलीले मध्यपहाडी यात्राको क्रममा आफूहरुलाई प्राप्त जनताका माग र समस्याहरुको बारेमा प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । एमालेले १८ दिनको यात्राका क्रममा स्थानीय रुपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग समावेश गरेको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्वाबारे तस्विर सार्वजनिक गर्दै ओलीले फेशबुकमा लेखेका छन्-

मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौं। १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्। मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु। प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ। यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्व अर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौं।
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय

रिपोर्टर्स नेपाल डटकमले यसअघि नै प्रधानमन्त्री दाहाल युगाण्डा भ्रमणमा रहेको बेलामा नै ओलीले प्रधानमन्त्री दाहालसँग सहकार्यको लागि निर्णायक वार्ता गर्ने समाचार लेखेको थियो । एमालेभित्र यतिवेला माओवादीसँग सहकार्यको लागि पहल गर्नुपर्ने आवाज उठेको छ । यसपटक एमाले र माओवादीबीच सत्ता सहकार्यमा दुवै दलका अध्यक्षहरु ओली र प्रचण्ड नै संलग्न रहेको उच्च स्रोतको दाबी छ । विगतमा पार्टी एकता गर्दा गरिएका गल्तीहरु सच्चाउनेगरि यसपटक पार्टी एकता गरौं भनेर दुवै दलका अध्यक्षहरुले महशुस गरेर निर्णायक छलफलमा बसेको स्रोतको दाबी छ ।

ओलीले प्रधानमन्त्री दाहालसँग छलफल गर्न एमाले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मा दिएका छन् । पुष १० गते एमालेको समर्थनमा प्रधानमन्त्री दाहाल फागुनसम्म आईपुग्दा एमालेको साथ छोडेर कांग्रेससहितको गठबन्धन बनाएका हुन् । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको गत पुष १० गते नै एक वर्ष पुगिसकेको छ । एमाले नेतृत्वले तीन वर्ष नै सरकारको नेतृत्व गर्नको लागि प्रचण्डलाई आग्रह गरेको बुझिएको छ। माओवादीभित्र पनि एमालेसँग सहकार्य गर्नुपर्ने आवाज बुलन्द हुन थालेको छ । माओवादीका प्रभावशाली नेताहरु वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरु एमालेसँग सहकार्य गर्दा पार्टीलाई राम्रो हुने पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्