Logo

थपलियाको अर्धशतकले पनि गरेन काम, घर्तीको अर्धशतकमा कर्णालीको शानदार जित



काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले लगातार सातौ हार भोगेको छ । आज भएको खेलमा कर्णाली प्रदेशसँग ६ विकेटले पराजित हुँदै कोशीले लगातार सातौ हार भोगेको हो ।

माथिल्लो मूलपानी मैदानमा कोशीले दिएको १५२ रनको मध्यम लक्ष्य कर्णालीले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा अविजित रहँदै अर्धशतक पूरा गरे । त्यसक्रममा उनले ६ चौका र २ छक्का पनि हिर्काए । हिमांशु शाही नटआउट रहँदै २४ रन थपे ।

त्यस्तै विपीन शाहीले २८, निश्चल रावलले २१ र कप्तान रविन्द्र शाहीले १२ रन थपे । बलिङतर्फ कोशीका हेमन्त राईले ३ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४।३ ओभरमा अलआउट हुनुअघि १ सय ५१ रन जोड्यो । कोशीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुजन थपलियाले ७३ रन जोडे । कोशीका अन्य ब्याटरले भने खास योगदान दिन सकेनन् । कर्णालीले २२ अतिरिक्त रन दिनु नै कोशीको अन्य ब्याटरभन्दा ठूलो योगदान रह्यो ।

सुजनले ७३ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए । छैटौं ओभरमा क्रिजमा आएका उनी ३४ औं ओभरमा दिनेश अधिकारीको बलमा बोल्ड भएका थिए । सुजनले यसअघि प्रतियोगितामा पुलिसविरुद्ध शतक समेत प्रहार गरेका थिए ।

कप्तान अंकित सुवेदी ४ रन जोड्दै दोस्रो ओभरमा आउट भएपछि सुरु भएको विकेट पतन कुनै समय रोकिएन । सातौं विकेटका लागि अभ्यास तिम्सिनाले ३४ बलमा ९ रन जोड्दै विकेटमा बसेर सुजनलाई साथ दिए । यी दुईले सातौं विकेटका लागि ४४ रन जोडेका थिए ।

आइश भट्टराई ११ र सौजन घिमिरे १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए । प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot