Logo

जनमतकी मन्त्री अनिता देवीलाई बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, सिके राउत आन्दोलनको तयारीमा



काठमाडौं, १० माघ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशमा ०७९ को निर्वाचनपछि उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी र राउतले नेतृत्व गरेको जनमतबीच आन्तरिक प्रतिष्पर्धा चुलिएको छ । मधेशी जनताले आफूहरुलाई नेतृत्वमा स्थापित गरेको राउत पक्षधरहरुको भनाई छ ।

तर, यादवले आफूलाई मधेशको मसिहाको रुपमा प्रस्तुत गरेको भन्दै राउतका कार्यकर्ताहरु रुष्ट छन् । खासगरी मधेश सरकारबाट जनमत बाहिरिनुको प्रमुख कारण सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास रहेको छ । सो भवनको उद्घाटनको लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि राउतका कार्यकर्ताहरु रुष्ट बनेका हुन् ।

अहिले केन्द्रीय सरकारमा जसपा र जनमत दुवै सहभागी छन् । जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् भने जनमतबाट एक मन्त्री सहभागी छन् । जनमतबाट अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा छिन् । मधेश प्रदेशमा भएको जसपा–जनमतको टसल केन्द्रमा पनि देखिन थालेको छ ।

राउतले भोलि हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट विद्रोह गरेर छुट्टै उम्मेद्वारी दिएका छन् । यसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल चिढिएका छन् । पछिल्लो समय गठबन्धनबाट राउतलाई अलग बनाउनको लागि माधव नेपाल र उपेन्द्र यादवले प्रधानमन्त्री दाहालसमक्ष दबाब बढाएका छन् । प्रधानमन्त्री दाहालले गठबन्धनमा रहेर गठबन्धनलाई नै असहयोग गरेको भन्दै आज/भोलिभित्रै जनमतलाई सरकारबाट बाहिर पठाउनेगरि गृहकार्य थालेका छन् ।

उता, राउतले पनि मधेशमा निर्णायक आन्दोलन थाल्नेगरि गृहकार्य गरेका छन् । अहिले मधेश सरकार बनेदेखि भएका भ्रष्टाचारको विरुद्धमा आन्दोलन सुरु गर्ने र विस्तारै केन्द्रीय सरकारविरुद्ध पनि आन्दोलन चर्काउने राउतको योजना छ । उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्णायक आन्दोलनको लागि तयारीमा रहन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्