Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध मोर्चाबन्दी कस्दै ओली : राजेन्द्र, रवि र सिके राउतको पनि साथ खोज्दै



काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार देश र जनताको लागि काम नलाग्ने अवस्थामा पुगेको निश्कर्षसहित एमालेले छिट्टै सरकार ढाल्न निर्णायक आन्दोलन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सकेसम्म अहिलेको सत्ता गठबन्धन भत्काउन लागिपर्ने र केही गरी गठबन्धन भत्काउन नसकिए सरकार ढाल्नको लागि निर्णायक आन्दोलन गरिनुपर्ने निश्कर्ष सुनाएका छन् ।

पार्टीका विभिन्न कमिटीका बैठक र पार्टीसम्वद्ध कमिटीका बैठकहरुमा पनि उनले सार्वजनिक रुपमै वर्तमान सरकार ढाल्नुपर्ने र त्यसको लागि आन्दोलनमा होमिन तयारी अवस्थामा रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ओलीले वर्तमान सरकार ढाल्नको लागि एमाले एक्लैले आन्दोलन गर्नुभन्दापनि अन्य दललाई पनि सरकार ढाल्ने आन्दोलनमा सरिक गराउन छलफल थालेका छन् ।

ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विश्वासमा लिएका छन् । यी दुई नेताबीचको सम्बन्ध सुमधुर छ । ०७९ को निर्वाचनदेखि भोलि हुने राष्ट्रियसभाको निर्वाचनमा समेत सहकार्य गर्नुले पनि एमाले–राप्रपा सम्बन्ध सुमधुर रहेको पुष्टि हुन्छ । एमालेले कोशीमा राप्रपाबाट सभामुख बनेका अम्बरबहादुर विष्टलाई पनि समर्थन गरेको छ । ओलीले वामपन्थीहरुबीच एकता गर्नुपर्ने आवश्यकत्तासहित प्रधानमन्त्री दाहालसँग छलफल गरेको स्रोतको दाबी छ । प्रचण्डसँगको आफ्नो छलफल सकारात्मक नभएपछि उनले आन्दोलनको साहारा लिन लागेको चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री दाहालसँग सत्ता गठबन्धनमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टीपनि रुष्ट छ । राउतको पार्टी मधेश प्रदेश सरकारबाट हिजो नै बाहिरिएको छ। अब केन्द्रमा पनि सरकारबाट बाहिरिने उसको तयारी छ । सरकारविरुद्ध निर्णायक आन्दोलन थालिने राउतको चेतावनी छ । राप्रपाले पनि फागुनबाट सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।

उता, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार गलत बाटोमा रहेको निश्कर्ष निकालेको छ। सरकारका कारण देश झनै ठूलो अप्ठ्यारोमा पर्ने उसको निश्कर्ष छ । सरकारविरुद्धको आन्दोलनमा रास्वपा, राप्रपा र जनमतलाई विश्वासमा लिएका ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भित्रभित्रै सरकार ढाल्ने र नयाँ गठबन्धन बनाउनेबारे छलफल गरेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot