काठमाडौं, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत लुम्बिनी प्रदेश र मधेस प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशमा दुई सदस्यका लागि केहीबेर अघिबाट मतदान सुरु भएको हो।
दाङको घोराहीमा रहेको मतदान केन्द्रमा लुम्बिनीमा उम्मेदवारी दिएका दुई जना सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। एक महिला र एक अन्य सिटमा हुन लागेको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादिका झक्कु सुवेदी, एमालेका तुलसा केसी, झपेन्द्र घर्ती, राप्रबाट विजया लक्ष्मी सिंह र जनमत पार्टिबाट बाल गोविन्द चौधरी प्रतिस्पर्धामा छन्।
प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र १०९ स्थानिय तहका २१८ जना प्रमुख,उपप्रमुखले मतदान गर्नेछन्। त्यस्तै, मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान सुरु भईरहेको छ ।
महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै दुई मतदान केन्द्रमा मतदान गरिरहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ ।
मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा ९धनुषा० र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदवारी दिएका छन् । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।