Logo

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान



चितवन, ११ माघ । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने खनालले बताए । अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्वनेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उनले जानकारी दिए ।

यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव सङ्कलन गरिने छ । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ ।

कांग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जनप्रतिनिधिबीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताए । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनासमेत तय गरिने छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot