Logo

‘सरकारमा जान हामी जहिल्यैपनि तयार छौं’ : रास्वपा सांसद पराजुली



काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार बनाउने र ढाल्ने प्रक्रियामा आफूहरु नलाग्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामीले सुरुवाती चरणदेखि नै भनेका छौं, हामी त्यो अस्थिरताको खेलमा कहिल्यैपनि लाग्दैनौं । हामी अहिले प्रतिपक्षमा छौं । अहिले धेरै दलहरु सम्मिलित सरकार छ । प्रधानमन्त्रीले आफ्नो कुर्सी बचाउनको लागि हरक्षण आफ्नो समय व्यतित गरिराख्नुभएको छ । यो दुर्भाग्य हो ।’

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु जनताबाट निर्वाचित भएर आएको सांसदहरु भएको हुँदा आवश्यक पर्दा सरकारमा जान सकिने बताए ।

उनले भने,‘अहिले जुन प्रक्रियाबाट हामी सदनमा छौं, सरकार बन्ने प्रक्रिया पनि त्यही हो । जनताबाट निर्वाचित भएर आएका संघीय सांसदहरुको माध्यमबाट सरकार बन्ने हो । त्यसकारण हामी सरकारमा जान सक्छौं कि सक्दैनौं भन्ने कुरा त जहिल्यैपनि रहन सक्छ । हामी सदैव तयारपनि छौं । जनताले हामीलाई जिम्मेवारी दिएर पठाएको हो ।’यद्धपी उनले सरकार ढालेर र राजनीतिक अस्थिरता पैदा गरेर भने आफूहरु कहिल्यैपनि सरकारमा नजाने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्