Logo

भारतीय दुतावासले यसरी मनायो ७५औं गणतन्त्र दिवस (तस्विरहरु)



काठमाडौँ, माघ १२ । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७५औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका छन्। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको छ ।

‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित भारतले धुमधामका साथ गणतन्त्र दिवस मनाउँदैछ ।
सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्