Logo

ओलीपछि जनतामाँझ पुगे गगन



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजबाट समूदायमा कांग्रेस अभियान थालेका छन् । थापाले यो अभियान झापाबाट सुरु गरेका हुन् । अभियान आगामी माघ २६ गते सुदुरपश्चिमको कञ्चनपुरमा पुगेर टुँग्गिनेछ । झापामा अभियान प्रारम्भ गर्दा थापाले भर्खरै राष्ट्रियसभामा निर्वाचित कृष्णप्रसाद सिटौलाको आर्शिवाद लिएका छन् । उनलाई अभियान सफल होस भनेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले शुभकामना दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भर्खरै झुलाघाटदेखि चिवाभञ्याङसम्मको यात्रा सम्पन्न गरेको छ । सत्ता गठबन्धनका दलहरु काठमाडौंमा केन्द्रित हुँदा एमालेको सिगो नेतृत्व पँक्ति भने संकल्प यात्रामा थियो । सो अभियानबाट संकलित जनताका समस्याहरु एमालेले एकीकृत गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाईसकेको छ। एमालेको अभियान सकिएलगत्तै अहिले कांग्रेसबाट भने थापाले समूदायमा कांग्रेस नाम दिएर अभियान थालेका छन् । कतिपयले थापाको यो अभियानलाई ओलीको नक्कल भनेरपनि टिप्पणी गर्न थालेका छन् ।

अभियानको थालनी गरेका थापाले जनतामा छाएको निराशा चिर्न यो अभियान सुरु गरेको स्पष्ट पारेका छन् । उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ भएको र उक्त यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । उनले भने,‘हामीहरु भुईंमान्छेको प्रतिनिधि हौं, पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य हो ।’



प्रतिक्रिया दिनुहोस्