Logo

नक्कली मेडिकल रिपोर्ट बनाइदिएर डा. रञ्जितले स–परिवारलाई फौजदारी मुद्दामा फसाएको आरोप



काठमाडौं, १३ माघ । भारतको सितामढी जिल्ला विहार राज्यका रामएकवाल हाथीले नेपालका डाक्टर रञ्जित कुमार साहले नक्कली मेडिकल रिपोर्ट बनाएर आफ्नो परिवारनै बर्वाद पारिदिएको आरोप लगाएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले डा.साहका कारण आफू र आफ्नो स–परिवारले फौजदारी कसुरमा झमेला पाएको बताए । आफ्ना कान्छा भाइ जितेन्द्र कुमारले सर्लाहीकी अनिता कुमारीसँग विवाह गरेको र उनीहरुको वैबाहिक जीवन सुखद् हुन नसक्दा अनिताका आफन्त नाता पर्ने डा. साहले नक्कली मेडिकल रिपोर्ट तयारी गरिदिएपछि आफ्नो स–परिवारविरुद्ध फौजदारी मुद्दा दायर भएको उनको आरोप छ ।

परिवारका सदस्यले विषादी खुवाइ गर्भपतन गराएको भन्दै अनिताले आफूहरुविरुद्ध मुद्दा दायर गरेको र उक्त घटना पुष्टि हुने नक्कली कागजात डा. साहले तयार पारिदिएको उनको आरोप छ । डा. साहले धनुषा अस्पताल (प्रा.) लि. जनकपुरधाममा उपचार गराएको इमरजेन्सी टिकट बनाइदिएको उनको आरोप छ ।

अनिताको जाहेरी र डा. साहको नक्कली मेडिकल रिपोर्टले आफूसहित परिवारका सदस्यहरु बुवा रामएकवाल हाथी, भाईहरु जितेन्द्र कुमार, अमित कुमार, आमा सुनैना देवी, मेरो श्रीमती मिना देवी, दिदी आशा देवी र भिनाजु सतिश अन्यायमा परेको उनले बताए । उक्त मुद्दा अहिले भारतको सितामढी जिल्ला अदालतमा चलिरहेको र आफूहरु धरौटीमा छुटेको उनले बताए ।

डा. साहविरुद्ध नेपाल मेडिकल काउन्सिलमा आफूले उजुरी दिएको बताउँदै उनले सत्य–तथ्य छानविन गरी कारबाहीको माग गरे । डा. साहको कारण आफूहरु स–परिवार अनाहकमा फौजदारी कसूरको कसूरदार प्रमाणित हुने अवस्थामा पुगेको उनले बताए । उनले डा. साहको उक्त कार्य मेडिकल काउन्सिल नियामावली विपरीत रहेको भन्दै कारबाहीको माग गरे ।



प्रतिक्रिया दिनुहोस्