Logo

कोशीको घट्नाले गठबन्धन टुटाउँदैन्, हाम्रो पार्टीले छानबिन गर्नुपर्छ : उदयशमशेर जबरा



काठमाडौं, १३ माघ ।  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद उदयशमशेर जबराले कोशीको घट्नाले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । उनले भने,‘गठबन्धनमा कोशी प्रदेशमा केही समस्या आएको हो । यसले गठबन्धन टुटाउँदैन् । कोशीमा मात्रै समस्या देखिएको छ, अरु ६ प्रदेशमा क्लिन–इलेक्शन भएको छ । कोशी प्रदेशमा अत्यन्तै बढि राजनीतिक अस्थिरताको खेल भएको छ । यो राष्ट्रिय राजनीति भन्दापनि प्रदेश राजनीतिको ह्याङओभर हो । हाम्रो पार्टीले यसमा छानबिन गर्नुपर्ने हुन्छ । यो कारणले गठबन्धन टुट्दैन ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै जबराले अर्को निर्वाचन नआएसम्म सत्ता गठबन्धन कायम रहने दाबी गरे । उनले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दाबी हुने सुनाए । उनले भने,‘यसबारे सहमति भएको वा नभएको भन्ने कुरा शीर्ष नेताहरुबीचको कुरा होला, तर मैले पाएको सूचनाअनुसार राष्ट्रियसभाको अध्यक्ष कांग्रेसको भागमा परेको छ ।’ उनले नेपालमा राजनीतिक स्थायित्वको खडेरीले गर्दा विकास निर्माणका कार्यहरु अवरुद्ध भएको टिप्पणी गरे । उनले नेपालमा सरकारमात्रै नभएर नीति, नियमहरु पनि अस्थिर हुनु दुःखद् भएको बताए ।

उनले आवश्यक गृहकार्य नगरी भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाईएको र अहिले ती दुवै विमानस्थल नेपालको लागि सेतो हात्ती भएको टिप्पणी गरे । सो क्रममा उनले संविधानको निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको मुख्य जिम्मेवारी र काम भनेको गठबन्धन बलियो राख्नेमात्रै भएको बताए ।

जबराले नेपालले भारतसँग आर्थिक विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हालै भरतसँग विद्युत सम्झौता भयो । राम्रो भएको छ । भारतसँग डिल गर्दा नेपालको स्वार्थ अब आर्थिक वृद्धिको निम्ति हुनुपर्छ । नेपालविना भारतको आर्थिक वृद्धि हुन्छ । तर, भारतसँग हाम्रो रिलेशन बिग्रियो भने हाम्रो अर्थतन्त्रमा ठूलो असर आउनसक्छ । त्यो भएकोले व्यवहारिक रुपमा हामीले भारतसँग डिल गर्नुपर्छ । हाम्रो ध्यान अब आर्थिक विषयमा हुनुपर्छ । जलस्रो र पर्यटनमा हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्