Logo

राष्ट्रिय सभा निर्वाचनमा भएको भोट क्रसबारे सत्ता गठबन्धनमा गम्भीर छलफल गर्छौ: माधव नेपाल



काठमाडौं,१४ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा भएको भोट क्रसबारे सत्ता साझेदार दलबीच गम्भीर रुपमा छलफल गर्ने बताएका छ्न ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ दलभित्र देखिएको यसप्रकारको वेमेललाई सामान्य ढंगले मान्न नसकिने बताएका हुन् ।

‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो । तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सवै दलका लागि छलफलको विषय हुन पुगेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

बिहीबार सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी बन्दा कोशी प्रदेशमा भने उलटफेर भएको थियो । कोशीमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला अप्रत्याशीत रुपमा विजयी भएकी थिइन् ।

कोइरालालाई सत्ता गठबन्धनमा आवद्ध दलले नै मत दिएको भन्दै सत्ता गठबन्धनमा गम्भीर समीक्षा गर्न नेताहरुमाथि तीव्र दवाव परिरहेको छ । खासगरी सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँगको सत्ता सहकार्यबारे गम्भीर ढंगबाट समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ दवाव परेको छ ।



प्रतिक्रिया दिनुहोस्