Logo

छायाँनाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सारुसहित इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ल, वडानम्बर ८ का वडाध्यक्ष कर्ण रावल, वडानम्बर ७ का सदस्य पशुपति शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत र सदस्य हजरकला कामी, विरुद्ध पनि मुद्दा दायर भएको छ ।

नगरपालिकाको वडा नं। ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ ।

उनीहरुको मिलेमतोमा गलत तथा झुट्टा नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयारी पारी २८ लाख ६२ हजार ४५९ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को कसुरमा सजाय तथा जरिवानासहित उक्त रकम जफतको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही न।पा।का इञ्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा सोही न।पा। वडा नं। ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं। ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुर गरेको देखिँदा चक्र बहादुर सावत, हजर कला कामी, महेश सिंह कठायत, कर्ण रावल र पशुपति शाहीलाई सोही ऐनको सोही दफा तथा उपदफा बमोजिम सजाय तथा जरिवाना हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्