Logo

संस्थागत क्षमता स्वमूल्याङ्कनमा चामे उत्कृष्ट



मनाङ, १६ माघ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै उत्कृष्ट नतिजा पाएको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७९/८० मा गरेका कामको १० वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चामे उत्कृष्ट ठहरिएको छ ।

जिल्लाका चार पालिकामध्ये चामेले सबैभन्दा बढी अङ्क प्राप्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । पालिकाले १० मुख्य सूचकका आधारमा आर्थिक वर्ष २०७९/८० मा गरेका कामको आफैँले मूल्याङ्कन गरेका हुन् । त्यसमा चामेले जिल्लामै सबैभन्दा बढी ६७ दशमलव पाँच अङ्क प्राप्त गरेको छ ।

आव २०७८/७९ मा भने सो पालिकाले ६२ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको थियो । चार गाउँपालिका रहेको मनाङका दुई स्थानीय तह मनाङ ङिस्याङ र नार्पाभूभि गाउँपालिकाले भने ५८ दशमलव पाँच समान अङ्क प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, नासों गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५४ दशमलव पाँच अङ्क प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पालिकाको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्याङ्कनको आधार बनाइएको छ ।

सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्याङ्कन गरेका हुन् । यसमा अङ्कभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्