Logo

आफ्नो घर वरपरका सबै रुख काट्न वडा अध्यक्षको उर्दी



काठमाडौं, १६ माघ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरी आ–आफ्नो घर वरपर रहेका सबै रुखहरु काट्न वडाबासीलाई निर्देशन दिएका छन् । वडा अध्यक्ष पाण्डेले हिजो (सोमबार) विज्ञप्ति जारी गर्दै बाँदर नियन्त्रणका लागि रुख काट्न निर्देशन दिएका हुन् ।

‘साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आ.व. ०८०/०८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको हुँदा आजको मितिले १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरि आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’– वडा अध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।

हिजो सूचना जारी गरेर अभियान सञ्चालन गर्न भनेका वडा अध्यक्ष पाण्डे आज आफ्नो निर्णयबाट ब्याक भइसकेका छन् । महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न भनेपछि उनी आफ्नो निर्णयबाट ब्याक भएका हुन् । वडा अध्यक्ष पाण्डेले महानगरपालिकाको कार्यालयको निर्देशनअनुसार उक्त सूचना रद्ध गरिएको भन्दै अर्को सूचना जारी गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्