Logo

शासक वर्गको विभेदकारी नीति र उपेक्षाले मधेस पछि पर्योः उपेन्द्र यादव



काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षा र विभेदकारी नीतिले गर्दा मधेश मधेश शोषित र पछि परेको बताएका छन् ।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको मधेश प्रदेश समितिले मंगलबार जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष यादवले शासक वर्गको मधेशप्रतिको विभेदकारी नीतिकै कारण मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार जस्ता क्षेत्र विकास हुन नसकेको बताएका हुन् ।

मधेशी जनताले विभेदकारी राज्यसत्ताको रवैयाविरुद्ध गरेको जनविद्रोहकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको जिकिर गर्दै उनले राज्यको केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेशप्रतिको हीन चरित्र अझै सुध्रिन नसकेको उल्लेख गरे ।

‘समथर भूभाग, उर्बरभूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेशमा भएपनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै हो’– अध्यक्ष यादवले भने, ‘तर मुलुक संघिय शासन प्रणालीमा गएपनि उपेक्षित एवं शोषित सीमान्तकृत वर्गमाथिको विभेद अझै उन्मूलन हुन सकेन ।’

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले उत्पीडित जनता र समुदायमाथिको विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।

समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सदस्य एवं समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव, मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव, महिला बालबालिका मन्त्री सुरिता साहसहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

भोलि सम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठ वटै जिल्लाबाट करिब एक सय बढी महिला नेत्रीहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्