Logo

रविले गृहमन्त्री श्रेष्ठलाई भने, ‘सहकारी पीडितलाई न्याय दिन आईडीया चाहियो भने भन्नुहोला’



काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितहरुलाई न्याय दिन छाडेर आफूमाथि पूर्वाग्रही भएर लागिपरेको आरोप लगाएका छन् । आज (मंगलबार) राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताएका हुन् । उनले सहकारी ठगी गरेर भागेकाहरुलाई समाएर, उनीहरुको सम्पत्ति जफत गरेर भएपनि पीडितलाई न्याय दिनुपर्नेमा रवि लामिछानेको केही छ कि खोज त भनेर गृहमन्त्री पूर्वाग्रही भएर लागिरहेको बताए । उनले आफूले कुनै गलत नगरेको समेत बताए ।

‘गृहमन्त्रीज्यूले सहकारी पीडितका लागि न्याय दिनुपर्यो भनेर, सहकारी पीडितहरुका लागि काम गर्नुपर्यो, सहकारीबाट भागेकाहरुलाई समातेर, यिनको सम्पत्ति कब्जा गरेर ल्याएर, कानुन ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्न पर्यो भनेर लागि परेको भए अहिलेसम्म कयौं पीडितहरुले पैसा पाइसक्थे । केही न केही सुरुवात हुन्थ्यो । तर, उहाँको ध्यान त यसलाई चाहीँ छोड्नु भएन, यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुस् त भनेर यति समय लगाउनु भयो । के भए पो पाउनु ? भए त किन छोड्थे र ?’ उनले प्रश्न गरे ।

आफ्नो पछि लाग्ने समय पीडितहरुलाई न्याय दिनका लागि खर्च गर्न पनि उनले गृहमन्त्रीलाई सुझाव दिए । साथै, पीडितलाई न्याय कसरी दिने भन्नेबारे आईडीया चाहिएमा सम्पर्क राख्नसमेत उनले गृहमन्त्रीलाई आग्रह गरे । आफूसँग आईडिया मागे भनिदिने उनले बताए । पीडितलाई न्याय दिने कुरामा सहकार्य गर्ने हो भने आफूहरु तयार रहेको उनले बताए । रवि लामिछानेलाई कसरी बदनाम गराउने र कसरी थुन्ने भनेर पछि नलाग्न उनले आग्रह गरे । आफूलाई दोषी प्रमाणित गर्न सक्दैनसक्ने उनको जिकिर छ ।

उपप्रधानमन्त्री भइसकेको टोपबहादु रायमाझीलाई समातेको सरकारले जिबी राईलाई समात्न छाडेर रवि लामिछानेको संलग्नता छ कि भनेर खोजेर हिँडेको उनले बताए । नसक्ने भए आफूलाई जिम्मेवारी दिनसमेत उनले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरे । ‘सकिँन, हामीले सकेनौं हजुर भन्नुुस् म तयार छु । हामी तयार छौं, सकिन्छ गर्न,’– रविले भने ।



प्रतिक्रिया दिनुहोस्