काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र मसानघाटमा पुगिसकेको भन्दै अब जाग्न नदिने दाबी गरेका छन् । उनले भने,‘एकथरी मान्छे मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन खोजिरहेका छन् । यो व्यर्थको कसरत नगर्न पनि म तिनीहरुलाई आग्रह गर्दछु । हराईसकेका शक्तिहरू, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्ने वाला छैन । केही गर्नेवाला पनि छैन । जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ । त्यस कारणले व्यर्थको कसरत नगरौँ ।’
आज (बिहीबार) मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा उनले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने टिप्पणी गरे । उनले भने,‘कतिपयलाई यो गठबन्धन पचेको छैन् । जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्छ । म ढुक्क हुन आग्रह गर्दछु ।’
उनले अहिलेको गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिएको दाबी गरे । नेपालले थपे–‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ ।’ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’
सो अवसरमा उनले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई भाषणवाजीभन्दा पनि काम गर्न सुझाव दिए । उनले भने,‘भाषण र वाचाभन्दा परिणाममुखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौँ । विगतका गल्तीलाई समीक्षा गर्नुपर्छ । कनिका छरे जसरी बजेट छर्ने । आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’