Logo

‘दयारानी’ अहंकारी पुरुषको कथा हो : माओत्से गुरुङ



काठमाडौं, २१ माघ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर गुरुङ उत्साहित छन् । ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो समय झन बढेको छ ।

दयाहाङ राई र दीया पुनको जोडी कसेर उनले समाजको कथालाई दर्शकमाझ पस्किएका छन् । माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् तर त्यसलाई मनपराइने वा मननपराइने कुरा वाचकको शैलीमा भरपर्छ । उनले ‘दयारानी’को कथा फिल्ममा भन्दा प्रस्तुतिलाई खुबै ध्यान दिएका छन् । हास्यरसमा उनले समाजमा पुरुष अंहकारमाथि गम्भीर छेडखानीसँगै प्रश्न खडा गरेका छन् ।

‘यो फिल्मले एउटा अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । सबै पुरुष होइन हाम्रा समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमीकमजोरीहरुको दोष पनि अरुमाथि थोपार्ने, अन्तिमसम्म पनि म कमजोर छु भन्ने कुरालाई आत्मसाथ गर्ननसक्ने पुरुषको मनोवृत्ति प्रस्तुत गर्छ’, उनले भने ।

यो सँगै फिल्मले पुरुषको यही अंहकारले एउटी महिलाले त्यसको दबाब कुनरुपमा झेल्नुपर्छ आफ्ना खुशीसमेत बाँड्नुपर्छ भनेर पनि आफ्नो फिल्मले देखाउने उनको भनाई छ । ‘हाम्रो समाजमा पितृसत्ता महिलामाथि अझै हाबी छ भन्ने देख्नसक्नुहुन्छ’, उनले थपे ।

‘दयारानी’ पाँच वर्ष अगाडि तयार भएको फिल्म हो । तर पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको बुझाइ छ । फिल्मले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् किनकी यो हाम्रो समाजको कथा हो । उनले यो कथा आफ्नै साथीभाई, इष्टमित्रबिच घटेको देखेपछि आम दर्शकका लागि रुचिकर हुनसक्छ भनेर यसलाई फिल्मको रुपमा ढालेका हुन् ।

यसैगरी कुराकानीका क्रममा गुरुङले निर्माताहरु तयार भएमा फिल्मको सिक्वेल हेर्न धेरै समय कुर्नुपर्दैन । कथा तयार छ, निर्माताले हरियो संकेत गरे एकडेढ वर्षभित्र उनी यो फिल्मको सिक्वेल पस्किन तयार छन । फिल्म देशविदेशका केही सिमित दर्शकहरुले हेरिसकेका छन् । जसबाट उनले राम्रो प्रतिक्रिया पाएका छन् ।

उनी फिल्मका कलाकारहरुको कामबाट सन्तुष्ट छन् । उनीहरुको अभिनयले कथालाई बोक्न कुनै कसर नराखेको उनी बताउँछन् । उनी अब दर्शकको सन्तुष्टिको पर्खाइमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot