Logo

होमियोप्याथीप्रति नागरिकको विश्वास बढ्दो



गोदावरी (ललितपुर), २१ माघ । पछिल्लो समय होमियोप्याथी उपचार पद्धतिप्रति नागरिकको विश्वास बढेको पनि सेवा अपुग रहेको पाइएको छ । नेपालमा सङ्घीय सरकारको स्वामित्वममा रहेको ललितपुरस्थित श्री पशुपति होमियोप्याथी चिकित्सालय मात्र सीमित छ ।

चिकित्सालयमा पाँच जना चिकित्सकको दरबन्दी रहेकामा तीन जना मात्रै कार्यरत रहेका चिकित्सालयका प्रमुख डा प्रेमनारायण श्रीवास्तवले जानकारी दिए । उनका अनुसार अन्य कर्मचारीमा नर्सिङ स्टाफ चार, सिअहेव दुई, प्रशासनतर्फ सुब्बा एक, सहलेखापाल एक, कार्यालय सहयोगी पाँच, कम्प्युटर सहायक एक गरी १४ जना कार्यरत छन् ।

यहाँ दैनिक एक सय ५० देखि दुई सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको डा श्रीवास्तवले जानकारी दिए । “पछिल्लो समय नागरिकमा होमियोप्याथी उपचार पद्धतिप्रति विश्वास बढे् पनि जनशक्ति, आधुनिक उपकरण, आर्थिक अभावलगायत कारणले सेवा पु¥याउन समस्या भइरहेको छ”, उनले भने ।

अहिले प्रदेश सरकारले प्रदेशमा होमियोप्याथी उपचार पद्धति अपनाउन थालेका डा श्रीवास्तवले बताए । “एक जना अघोरी बाबाले राजा त्रिभुवनको सवारी हुँदा होमियोप्याथी उपचार पद्धतिलाई अगाडि बढाउन सुझाव दिएका थिए । विसं २०१० मा राजाले सरकारीस्तरमा श्री पशुपति होमियोप्याथिक चिकित्सालयको स्थापना गर्नुभएको थियो”, उनले भने ।

यस चिकित्सा पद्धतिका लागि समयसापेक्ष ल्याब, आधुनिक उपचारका लागि उपकरण, शय्या सञ्चालनका लागि भौतिक पूर्वाधारको अभाव, आवश्यक जनशक्ति तथा भवनको अभावलगायत कारणले सेवा प्रवाहमा समस्या भइरहेको चिकित्सालयका प्रमुख डा श्रीवास्तवले जानकारी दिए । “आवश्यक जनशक्ति, पूर्वाधार, उपकरणलगायतको मागसहित विसं २०७६ मा सरकारलाई योजना बनाएर बुझाएका छौँ”, उनले भने, “अहिलेसम्म दुई चरणमा बैठक बसे पनि केही उपलब्धि हुन सकेको छैन ।”

नेपालमा एकमात्र होमियोप्याथी चिकित्सा विद्यालय विराटनगरमा रहेको भन्दै श्रीवास्तवले उक्त विद्यालय हाल बन्द रहेको बताए । उनका अनुसार उक्त विद्यालयबाट करिब ६० विद्यार्थीले पास गरेका थिए । पशुपति होमियोप्याथी चिकित्सालयका प्रमुख डा श्रीवास्तवमा अनुसार होमियोप्याथी उपचार प्राकृतिक नियममा आधारित छ ।

डा श्रीवास्तवका अनुसार होमियोप्याथी चिकित्सामा विभिन्न रोगको उपचार गर्नका लागि वनस्पति, जैविक, खनिजलगायत प्राकृतिक पदार्थलाई अत्यन्त सुक्ष्ममात्राको उपयोग गरिन्छ । यो चिकित्सा प्रणाली अत्यन्त सरल, प्रभावकारी र नकारात्मक असररहित हुने डा श्रीवास्तवको भनाइ थियो । यसमा बिरामीको मानसिक, शारीरिक, स्वाद र भावनात्मकलगायत लक्षणका आधारमा औषधि सेवन गराएर उपचार गरिन्छ”, उनले भने ।

पशुपति होमियोप्याथी चिकित्सालयमा मानसिक रोग, नाक, कान, घाँटीसम्बन्धी, हाडजोर्नी, बाथ तथा छालासम्बन्धी, पाचन प्रणाली, महिला तथा बालरोग, पिनास, श्वासप्रश्वास, दमलगायतको उपचार गरिने डा श्रीवास्तवले जानकारी दिए ।

नेपालमा होमियोप्याथीको अवस्था

होमियोप्याथीलाई विश्वस्वास्थ्य सङ्गठनको सर्वेक्षणअनुसार वैकल्पिक चिकित्सा पद्धति मानिन्छ । विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धति लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथी उपचार जर्मनीबाट सुरु भई बेलायत, फ्रान्स हुँदै भारतमा आएको थियो । भारतबाट नेपाल भित्रिएको जनाकारहरु बताउँछन् ।

सरकारबाट कुनै पनि सेवासुविधा तथा रोजगारीको सुनिश्चितता नभएपछि विराटनगरमा रहेको होमियोप्याथी चिकित्सा विद्यालय बन्द भएको चिकित्सकको गुनासो छ ।

कानुनी जटिलताका कारण उक्त विद्यालय बन्द हुन पुगेको डा श्रीवास्तवले बताए । विद्यालय सञ्चालनका लागि तिनै तहका सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा होमियोप्याथी उपचार विधि प्रयोग गरिएको थियो ।

विसं २०७६/७७ मा ८७ हजार ७१ जनाले पशुपति होमियोप्याथी चिकित्सालयबाट उपचार लिएका प्रमुख डा श्रीवास्तवले जानकारी दिए । उनका अनुसार विसं २०७९/८० मा उपचार गराउनेको सङ्ख्या ३९ हजार नौ सय ३५ छन् । यो तथ्याङ्कले उपचार गराउनेको विश्वास बढेपनि सङ्ख्या घट्दै गएको छ ।

जनशक्तिका साथै उपकरण तथा आवश्यक संरचनाको अभावले सेवा दिन समस्या हुँदा सेवाग्राही कम हुँदै गएका डा श्रीवास्तवको भनाइ थियो । उनका अनुसार हाल नेपालभरि विभिन्न सङ्घसंस्था तथा प्रदेश सरकारद्वारा १६ वटा निःशुल्क होमियोप्याथी क्लिनिक तथा चार सय ५० निजी क्लिनिक छन् । प्रमुख डा श्रीवास्तवले भने, “चिकित्सालयमा मानिस सुविधा खोज्छन् । यस चिकित्सालयमा उपचारदेखि औषधिसम्म निःशुल्क दिने गरेका छौँ ।”

होमियोप्याथी उपचारका फाइदा

चिकित्सालयका प्रमुख डा श्रीवास्तवका अनुसार यो उपचार पद्धति करिब दुई सय २४ वर्ष पुरानो हो । “अहिलेसम्म होमियोप्याथी उपचारसम्बन्धी कुनै किसिमको नकारात्मक असर अध्ययन गर्दा देखा परेको छैन । यो समरूपताको सिद्धान्तमा आधारित छ”, उनले भने ।

श्रीवास्तवका अनुसार होमियोप्याथी साधारण, सस्तो र प्रभावकारी उपचार पद्धति हो । “औषधि सेवन गर्नुपूर्व कुनै होमियोप्याथी चिकित्सकसँग परामर्श गरेरमात्र सेवन गर्नुपर्छ । चिकित्सकले धेरै कुरामा विचार गरी पछिल्लो जीवनशैलीबारे जानकारी लिएपछि मात्रै औषधि दिन्छन् । यसले गर्दा रोग छिटो ठीक हुन्छ”, उनले भने ।

डा श्रीवास्तवका अनुसार मधुमेह (डायबिटिज), बाथ, ग्यास्टिक, उच्च रक्तचाप (ब्लड प्रेसर) का बिरामीले औषधि खाँदा काँचो प्याज, अदुवा, हिङ, लसुन, पेयपदार्थ, चुरोटलगायत हानिकारक वस्तु सेवन नगरेमा रोग छिटो निको हुन्छ ।

तिनै तहका सरकारको दायित्व

होमीयोप्याथी चिकित्सा प्रणाली सस्तो एवं सरल प्रक्रियाद्वारा प्रयोग गर्न सकिने भएकाले हाम्रोजस्तो विकासोन्मुख मुलुकका लागि अतिउपयोगी शिक्षा प्रणाली भएको डा श्रीवास्तवले बताए । “अन्य चिकित्सा पद्धतिको विकासमा जसरी सरकार केन्द्रित छ, त्यसरी नै होमीयोप्याथी अस्पतालको पनि विस्तार गर्दै लैजाने गरी तिनै तहका सरकारले नीति बनाउनुपर्छ”, उनले भने ।

यस पद्धतिप्रति जनआकर्षण बढ्दै गएको भन्दै थप जनचेतना फैलाउँदै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, प्रचारप्रसारलगायत काम गर्नुपर्ने जरुरी देखिएको छ ।

होमियोप्याथि चिकित्सा प्रणालीको प्रतिवादक जर्मनीका डा क्रिश्चियन स्यामुयल हैनिमेन हुन् । हैनिमेनले सन् १७९६ मा होमियोप्याथि उपचार पद्धतिको खोज गरेका यसलाई स्थापित गरेका थिए । प्रत्येक वर्ष हैनिमेनको जन्मजयन्तीका दिन १० अप्रिलमा विश्व होमियोप्याथी दिवस मनाउने गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot