Logo

माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश



काठमाडौं, २३ माघ । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् ।

तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । कोशीमा माओवादीले कांग्रेसबाट पाएको यो पहिलो धोका होईन । यसअघि पनि दुई पटक कांग्रेसले माओवादीलाई धोका दिएको माओवादीको कोशी प्रदेश कमिटीको निश्कर्ष छ ।

माओवादी कोशीले कांग्रेससँगको सहकार्य तत्काल तोड्नुपर्ने निश्कर्ष निकालेको छ । तर, केन्द्रको निर्णय कुरेर माओवादी कोशी प्रदेश कमिटीले कांग्रेससँगको सहकार्यबारे निर्णय गर्न नसकेको भनिएको छ । तर, अहिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् । त्यसमा माओवादीबाट दुई जना समेटिएका छन् ।

यता, केन्द्रमा भने कांग्रेसको शेखर कोइराला समूहले निरन्तर प्रधानमन्त्री प्रचण्डको आलोचना र विरोध गरिरहेको छ । सार्वजनिक रुपमै कोइराला पक्षधर नेताहरुले प्रधानमन्त्री दाहालको विकल्प खोजिनुपर्ने आवाज उठाएका छन् । पूर्व महामन्त्रीसमेत रहेका सांसद डा. शशांक कोइरालाले प्रचण्डलाई प्रधानमन्त्रीबाट विस्थापित गरेर माधव नेपाललाई स्थापित गराउनुपर्ने आवाज उठाएका छन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीको रुपमा प्रचण्डले अझै एक वर्ष नेतृत्व लिने समझदारी छ । तर, कांग्रेस नेताहरुले सहमतिविपरित नै प्रचण्डलाई समयअघि नै सरकारको नेतृत्वबाट विस्थापित गर्न आवाज उठाउनु र त्यहीअनुसार गृहकार्य गर्नुले सत्ता गठबन्धनमा असमझदारी विकास भएको छ ।

एमाले नेतृत्वले शेखर कोइराला समूहसँग निरन्तर सहकार्य गरिरहेको छ । कोशीमा एमालेकै समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बन्न सफल भएका हुन् । अहिले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको शेखर समूहले एमालेकी उम्मेद्वारलाई विजयी गराएर गुण तिरिसकेको छ । यो सहकार्य केन्द्रीय सत्ता सहकार्यसम्म पुग्ने अनुमान गरिएको छ । यसको लागि ओली र शेखर निरन्तर सम्वादमा रहेको भनिएको छ ।

तर, शेखरको साथ लिएर प्रचण्डलाई विस्थापित गर्न नसकिने निश्कर्षमा ओली पुगेका छन् । उनले प्रचण्डसँगै वान टु वान भेटवार्ता गरेर सत्ता–सहकार्यको विषयमा छलफल थालेका छन् । कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा एक्सपोज गरेको ओलीलाई मन परेको छैन् । उनले पार्टीको हालै बसेको संसदीय दलको बैठकमा समेत माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा प्रस्तावि गरिएकोमा आपत्ति जनाए ।

माधव नेपालको नामै नलिई ओलीले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीको रुपमा कांग्रेसको नेतृत्व तहमा रहेका नेताहरुले प्रस्ताव गर्नु आश्चर्यजनक भएको उनको टिप्पणी थियो । ओलीले प्रचण्डलाई सत्ता संकट पैदा भएको भए आफू काँध थाप्न तयार रहेको भन्दै अब नवीन ढंगले समझदारी गर्नुपर्ने आवश्कत्ता औंल्याएका छन् ।

उनीहरुबीच टिआरसी विद्येयक टुँगो लगाउने विषयको निहुँमा छलफल भैरहेको छ । तर, टिआरसीभन्दापनि एमाले–माओवादी सहकार्यबारे बढि यी दुई नेताबीच छलफल हुने गरेको स्रोतको दाबी छ । ओलीले प्रचण्डलाई तीन वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । र, त्यसपछिको दुई वर्ष आफू प्रधानमन्त्री बन्ने उनको प्रस्ताव छ ।

यसमा दुवै नेता सकारात्मक बनेको बताईएको छ । एमाले र माओवादीबीच सत्ता–सहकार्यको नयाँ समझदारी भए रवि लामिछाने नेतृत्वको रास्वपापनि नयाँ गठबन्धनमा जोडिने बताईएको छ । उपेन्द्र यादव नयाँ गठबन्धनको लागि हुने छलफलमा ओलीसँग निरन्तर सम्पर्कमा रहेको बताईएको छ । उता, राजेन्द्र लिङ्देनसँग त ओलीको राम्रै दोस्ती छ ।

ओलीले प्रचण्डसँग सत्ता सहकार्यबारे छलफल गरेको देउवाले पनि चाल पाएका छन् । उनी शेखर समूहको अतिरिक्त चलखेलका कारण पार्टीले क्षति व्यहोर्नुपर्ने उनको चिन्ता छ । उनी शेखर कोइराला समूह गठबन्धनमा इमानदार नबन्दा माओवादी बिच्किन लागेको भन्दै आफूनिकट नेताहरुसँग निराश देखिन थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot