Logo

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवका रुपमा मनाउने आजपाको निर्णय



काठमाडौं, २३ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । गत माघ १९ देखि २१ गतेसम्म बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता चन्द्र भुषण साहले बताए ।

साथै, बैंक, लघुवित तथा सहकारीको लुटविरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलनलाई निर्णायक बनाउने र भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने निर्णय पनि भएको छ ।

त्यस्तै, वैदेशिक रोजगारमा हुने ठगीविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकको निर्णय रहेको छ । राज्यमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई वैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई बिऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले अध्यक्ष साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्ष आजपाको निश्कर्ष छ । आयोगको उक्त कार्यको प्रतिवाद गर्ने आजपाले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot