Logo

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश



काठमाडौं, माघ २४ । भारत दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत लगातार पाँचौंपटक फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य भारतले ४८।५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सचिन दासले ९५ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक ९६ रन बनाए । यस्तै, कप्तान उदय सहारनले ८१ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र ट्रिस्टन लुसले तीनरतीन विकेट लिए ।

त्यसअघि बेनोनीस्थित विलोमूर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनायो । उसका लागि लुआन–ड्रे प्रिटोरियसले ७६ र रिचर्ड सेलेट्सवेनले ६५ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् ।

भारतका लागि राज लिम्बानीले ९ ओभरमा ६० रन दिएर सर्वाधिक तीन विकेट लिए । भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अस्ट्रेलिया खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot