काठमाडौं, माघ २६ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । त्यस्तै, तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । त्यस्तै, गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।