Logo

मेरा प्रेमका रङहरू



रवीन्द्र मिश्र-

(गुलावी, रातो, नीलो, पहेँलो र हरीयो छन्)
‘भ्यालेन्टाइन्स डे’को शुभकामना!
र, एउटा प्रेम कविता:
मेरा प्रेमका रङहरू
कोही मुलायम गुलावी छन्
ती गुलाफका पत्रजस्तै
सुन्दर-शालीन भएर फुल्दछन्
अनि झर्दछन्
कोही गाढा रातो छन्
ती सुन्दर ओठका आभाजस्तै
धपक्क बल्दछन्
बिस्तारै, बिस्तारै रङ्ग फेर्दै
रंगहरुकै चित्र कोर्दछन्
र आफ्नै गोरेटोमा हिँड्दछन्
मेरा प्रेमका रङहरू
कोही शीतल नीलो लेपका छन्
ती समुन्द्रका किनार र
आकाशका सुस्केरामैं बिलाउँछन्
कता हराउँछन्, कता हराउँछन्
स्मृतिमा रेखा कोर्दै
विस्मृतिमा विलीन हुन्छन्
कोही मन्द-मन्द पहेँला छन्
सबेरैको सूर्यजस्तै
भावना र आशा जगाउँछन्
दिन ढल्दै जाँदा
डाँडापारी अस्ताउँछन्
र भोलीपल्ट विहानै उदाउँछन्
मेरा प्रेमका रङहरू
कोही शान्त हरियो वर्णका छन्
जङ्गलमा सुस्ताएका आँखाजस्तै
न्यानो-न्यानो भएर सलबलाउँछन्
कोही कतिऽऽऽ काला छन्
अंध्यारोमैं रमेर जम्न खोज्छन्
र पनि मिठास छोडेर भाग्दछन्
मेरा प्रेमका रङहरू
होलीका रङजस्तै
वर्षेनी आउँछन्-जान्छन्
आउँछन्-जान्छन्
र पनि सदा मोहक लाग्दछन्
होलीका रङजस्तै छन्
मेरा प्रेमका रङहरू…!
14 Feb 2018 (२ फागुन २०७४)



प्रतिक्रिया दिनुहोस्

Screenshot