Logo

प्रचण्ड एमाले र रास्वपासँग नरम



काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता साझेदार दल नेपाली कांग्रेसविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । गत माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वारविरुद्ध कांग्रेसले घात गरेको निश्कर्षसहित प्रधानमन्त्री दाहाल रुष्ट बनेका छन् ।

उनले सार्वजनिक रुपमै कांग्रेससँगको गठबन्धन आफूहरुलाई लाभदायक नभएको निश्कर्ष पनि निकालेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण सुनाउने क्रममा उनले कांग्रेससँगको सहकार्यलाई लिएर असन्तोष प्रकट गरेका हुन् ।

कतिपयले प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर अब प्रचण्डले काँध फेर्न लागे भनेरपनि टिकाटिप्पणी गरेका छन् । कांग्रेसले धोका दिएको र कांग्रेससँगको गठबन्धन लाभदायक नभएपनि शान्ति प्रक्रिया टुँगो लगाउने विषयका कारण अहिले नै सहकार्य टुटाएर अर्को गठबन्धन बनाउन सकिने अवस्था नभएको पनि प्रचण्डको ब्रिफिङ थियो ।

तर, माओवादीका नेतृत्व तहमा रहेका अधिकांश नेताहरुले भने कांग्रेससँगको गठबन्धनबारे सोच्ने बेला आएको बताउन थालेका छन् । यसरी कांग्रेससँगको गठबन्धन टुटाउनुपर्ने पक्षमा वर्षमान पुनलगायतका नेताहरु अग्रभागमा खटिएका छन् । पुन एमालेसहित वापमन्थीहरुबीच एकताको पक्षमा छन् । प्रधानमन्त्री दाहाल कांग्रेससँग आक्रामक सुनिएपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग भने नरम देखिएका छन् ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि उनी नरम नै सुनिएका छन् । राष्ट्रियसभाको अध्यक्षको अब हुने निर्वाचनको मुखमा माओवादीले कांग्रेससँगको गठबन्धन तोड्ने र एमालेसहितका दल सम्मिलित नयाँ गठबन्धन बनाउनेगरि गृहकार्य गरेको पनि चर्चा छ । माओवादीले गठबन्धनमा भएको सहमतिविपरित राष्ट्रियसभाको अध्यक्षमा दाबी गरेको छ । अध्यक्ष नछोड्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दाहालसँग आग्रह गरेको बुझिएको छ ।

राष्ट्रियसभाको चुनावअघि अध्यक्ष बनाउनेगरि कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उम्मेद्वारी बनाईएको थियो । सिटौलाले चुनाव जितिसकेपछि कांग्रेसका शीर्ष नेताहरुले नै राष्ट्रियसभाको भावी अध्यक्ष भन्दै बधाई तथा शुभकामना दिइसकेका छन् । तर, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने कुनैपनि हालतमा राष्ट्रियसभाको अध्यक्ष नछोड्ने अडान लिएका छन् ।

उनले पार्टी कमिटीका बैठकमा पनि यो अडान सुनाउने गरेका छन् । कांग्रेस र माओवादीबीच राष्ट्रियसभाको अध्यक्षमा हुने दाबीकै कारण गठबन्धन तलमाथि हुनसक्ने आँकलन पनि गरिएको छ । एमाले अध्यक्ष ओली भने कुनैपनि हालतमा यो गठबन्धन टुटाउने पक्षमा छन् । यो बीचमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच निरन्तर भेटवार्ता भैरहेको छ । टिआरसी टुँगो लगाउन भेटवार्ता गरिएको भनिएपनि दुई नेताबीच सत्ता–सहकार्यलक्षित छलफल भैरहेको बुझिएको छ ।

ओलीले नयाँ गठबन्धन बनाउँदा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवि लामिछाने नेतृत्वको रास्वपालाई पनि समेट्ने छन् । त्यसैले प्रधानमन्त्री प्रचण्ड रास्वपाप्रति नरम नै सुनिन थालेका छन् । हिजोमात्रै रास्वपाका नेताहरुले प्रधानमन्त्री दाहाललाई भेटेका छन् । सो भेट सहकारी समस्या समाधानको लागि रास्वपाले तयार पारेको प्रतिवेदन बुझाउनको लागि भएपनि राजनीतिक विषयमा पनि दाहाल र लामिछानेबीच छलफल भएको बताईएको छ ।

फागुन २९ गते हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा अहिलेको सत्ता गठबन्धन टुटेर एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपनि आश्चर्य मान्नु हुँदैन् । प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि कांग्रेसका नेताहरु पनि माओवादीसँग रुष्ट छन् ।

कांग्रेस नेता शेखर कोइरालाले त कांग्रेससँगको सहकार्य तोडुन कसले रोकेको छ भनेर सार्वजनिक रुपमै प्रचण्डलाई जवाफ फर्काईसकेका छन् । आफ्नो पार्टी सभापति शेरबहादुर देउवालाई यसरी नधम्काउनसमेत उनले प्रचण्डलाई चेतावनी दिएका छन् ।

देउवानिकट नेता रमेश लेखकले पनि प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । प्रचण्डले कांग्रेससँगको गठबन्धनबारे प्रश्न उठाएको विषयमा पार्टीको महासमिति बैठकमा छलफलको विषय बनाउने कतिपय नेताहरुको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्