काठमाडौं, २ फागुन । उर्वर भूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले देवी भागवत लगाउने र शान्ति पुजा गर्ने क्रममा पण्डित दीनबन्धु पोखरेल, मण्डन देउपुर नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, सोही नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार तामाङ, रामबहादुर तामाङ र ठेगाना थाहा नभएका मुकुन्द नेपाल भन्ने व्यक्तिले करोडौं रुपैया उठाएर अपचलन गरेको आरोप लगाएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले उक्त घटना सार्वजनिक गरेका हुन् । उर्वर भूमि नेपालले काभ्रेको मण्डन देउपुरमा गत माघ ११ गतेदेखि १९ गतेसम्म श्रीमद् देवी भागवत महापुराण आयोजना गरेको थियो । उनीहरुले देवीभागवत लगाउन र शान्तिको पाठ पुजा गर्न खडागरीएको मञ्च यज्ञ मण्डपलगायत आयोजकले जुटाएको सम्पुर्ण सामानहरु कब्जा गरी आफ्नो अधिनमा लिएको उनको आरोप छ ।
उनीहरुले नक्कली समिति र नक्कली पर्चा छपाएको, सर्वसाधारण भक्तजनबाट करौडौं रकम उठाई अपचलन गरेको गंगालालको आरोप छ । आफूले उनीहरुविरुद्ध नगरको न्यायिक समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अनाधिकृत तवरबाट उठाईएका सम्पुर्ण रकमहरु सम्बन्धित भक्तजनहरुलाई नै फिर्ता गराई आयोजकको हुन गएको खर्च क्षतिपुर्ति भराइ पाऊँ भनी उजुरी दिएको जानकारी गराए ।