काठमाडौं, २ फागुन । भारतको मुम्बईमा निधन भएका रामेछापका सुरेश थापाको आफन्तको पहिचान नहुँदा शव उठ्न सकेको छैन । ६१ वर्षीय मृतक सुरेशको घर रामेछाप भन्नेमात्रै थाहा भएको र अन्य विवरण केही थाहा नहुँदा शव उठ्न नसकेको नेपाली कामगार सेना भारतका अध्यक्ष राज ठाकुर (मास्टर थापा) ले जानकारी दिए ।
मृतक सुरेशकी श्रीमतीको छ महिनाअघि नै निधन भएको र उनका छोराछोरी कोही पनि नभएको बताइएको छ । हृदयाघातका कारण फरबरी १२ मा मुम्बईको जेजे अस्पतालमा सुरेशको निधन भएको बताइएको छ ।
मृतक सुुरेशका आफन्तहरु अहिलेसम्म कोही सम्पर्कमा नआएकाले शव अहिले अस्पतालमै राखिएको बताइएको छ । मृतक सुरेशका आफन्तलाई सम्पर्कमा आउन र उनको नाममा देखिएको सम्पत्ति पनि बुझ्न नेपाली कामगार सेना भारतले आग्रह गरेको छ । आवश्यक जानकारीका लागि अध्यक्ष ठाकुरको मोबाइल नं. ९८९२३४७००८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।