काठमाडौं, फागुन ३ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले आजदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ गर्दैछ । नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सम्मेलन गर्न लागेको हो ।
नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरिएको केयूका उपकुलपति प्रा। डा। भोला थापाले जानकारी दिए ।
उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ ।
सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति प्रा। डा। थापाले बताए ।
सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज, अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को–ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट–२०२३’ को आयोजना गरेको थियो ।