Logo

भूटानका नेपाली लखेटिनु, जातिकै दुर्भाग्य



 शिशिर शर्मा, कालेबुङ (भारत)

नेपाली जातिको सबैभन्दा मुख्य टर्निङ पोइन्ट भूटानका नेपालीहरूलाई आफ्नै देशबाट लखेटेर शरणार्थी बनाइनु हो। नेपाली जाति दक्षिण एसियाली क्षेत्रको भनौं वा पूर्वीय हिन्दु सभ्यताको सबै भन्दा पुरानो र गौरवपूर्ण जाति मध्ये एक हो। आजसम्म कसैको दासत्वमा नबसेको वा कसैको गुलामी सहेर बस्न चहाहेको जाति नेपाली जाति नै हो। नेपाली जातिभित्र धेरै वटा विशेषताहरू छन्, ती मध्ये एउटा नेपाली जातिभित्र रहेको मिश्रित संस्कृतिको विकास पनि हो। त्यसै कारणले गर्दा  दक्षिण एसियाली क्षेत्रमा नेपाली जाति र यसको संस्कृतिको व्यापक प्रभाव रहेको देखिन्छ। 

नेपाली जातिको संस्कृति र साहित्यको प्रभाव अहिले पनि दक्षिण एसियाली भेकमा रोल मोडलकै रूपमा उपस्थिति  छ। बिस्तारै नेपाली संस्कृति र सभ्यताको वर्चश्व अन्य क्षेत्रमा पनि प्रभावकारी ढंगले बड़िरहेको बेलामा अन्य जातिलाई यसको कहीं न कहीं असर परिरहेको थियो। त्यसै सिलसिलामा भूटानमा नेपालीको वर्चश्व पनि धेरै बड़िरहेको इतिहास साक्षी छ। जसको कारण नै बलियो संस्कृतिको हिसाबले भूटानमा नेपालीसंग सत्ता डराउनु वा  डर पैदा हुनु स्वभाविक थियो। धेरैजसो भूटानी सभ्यतालाई नेपाली सभ्यताले प्रभाव पारिरहेको पनि थियो। यसै सन्दर्भमा भूटानलाई बड़ो चिन्ताले सताइरहेको थियो। कतै नेपाली सभ्यताले भूटानको सभ्यतालाई खाने त होइन ? भन्ने डरले भूटानमा बस्ने नेपालीहरूलाई सुनियोजित ढंगले लखेट्ने काम भएको थियो। यसमा अरू राष्ट्रको पनि सहायता लिएको स्पष्ट छ। कारण नेपाली सभ्यतालाई अघि बड़्न रोक लगाउनु उनीहरूको पनि लक्ष्य थियो। तर, नेपाली संस्कृति र सभ्यताको मूल  राष्ट्र नेपालले यही कुरालाई एकदमै सहज तरिकाले लिइदियो। नेपालले भूटानी नेपाली लखेटिँदा पनि मौंन रहेर रमिता हेर्नुमा नेपाल राष्ट्रले ठूलो कम्जोरी थियो। नेपालले शरणार्थीहरूको मुद्दामा सहज र कम्जोर  निर्णय लिएको कारणले गर्दा पनि नेपाली सभ्यताको विकासमा रोक लागेको छर्लङ्ग देखिन्छ। 

नेपाली जातिको बनावट सबै भन्दा अलग ढाँचाको छ र यही नै जातिको सबै भन्दा बलियो हतियार पनि थियो। यसैलाई केन्द्र गर्दै जाति तोड़्ने काम भएको पनि छ। हामीले यो कुरा अझै बुझ्न सकेको छैनौं। जातिको एकता नै नेपाली समाजको मूल शक्ति हो तर यसलाई नै विभाजन गरेर हामीलाई नै प्रहार गरिरहेको स्थिति आज पनि छ। भूटानमा नेपाली समाजलाई यस्तो अत्यचार गरिएको थियो, सुन्दा पनि डर लागेर आउँछ। अझ त्यो शोषण भोग्ने त्यहाँका पीड़ितहरूले कसरी सहन गरे होलान् ? आज नेपाल आफ्नै संस्कृति भएको जग्गामा पनि नेपालीहरूलाई शरणार्थी बनाइ विदेश पठाउनु अनि ती शरणार्थीहरूलाई शोषण गरी राजनीति गर्नु जस्तो दुःखद कुरा अरू केही होइन। भूटानी नेपालीहरू आज पनि नेपालबाट बाहिर गएर तथा शरणार्थीको जीवन बिताइरहनु नै वाध्य छ। यस्तोमा भूटानी नेपाली जातिको आँसुले नेपाललाई कति पिरेको होला ? त्यो आफै अनुभव गर्न सक्नु हुन्छ। 

भूटानका शरणार्थीहरूलाई लखेटिरहेको बेला नेपालले भूटानी शरणार्थीहरूको पक्षमा दह्रिलो खम्बा बनेर उनीहरूको पक्षमा उभिनु जरूरी थियो। आफ्नै संस्कार संस्कृतिको मूल केन्द्र नेपालमाथि भूटानी नेपाली शरणार्थीहरूले जुन विश्वास गरेको थियो, त्यो पूरा नहुनु नेपालको कम्जोरी स्पष्ट झल्किन्छ। एक लाख बीस हजार नेपाली भाषीलाई पनि नेपालले सहरा नदिनु र त्यसको सट्टा विदेश पठाएर उनीहरूको शोषणको पक्षधर बन्नु नेपालको निम्ति दुर्भाग्यको कुरा थियो। 

आज विश्वभरि छरिएका नेपालीहरूको जरा पहिल्याउँदै आए नेपालसम्म नै पुग्ने गर्छ, किनकि यो हाम्रो संस्कृति र संस्कार मात्रै होइन, पूर्खाहरूको इतिहास रहेको देश पनि हो। तर, जतिबेला कुनै ठाउँमा नेपालीहरू माथि शोषण वा अत्याचार हुन्छ, त्यो बेला पनि नेपाल बोल्न सक्ने स्थितिमा नहुनु नेपालीहरूको निम्ति ठूलो दुर्भाग्यको कुरा हो। त्यसैले अब नेपाल आफै समृद्ध र बोल्न सक्ने देश बनेर दक्षिण एसियाली क्षेत्रमा मजबुत हुन जरूरी छ। नत्र नेपालीहरूको संस्कार संस्कृति र जातिको कुनै पनि समस्यामा नेपालले भोलि पनि मूक दर्शककै भूमिका निर्वाह गर्नुपर्ने स्थिति रहिरहँदैन भनेर भन्न सकिँदैन र ?

ReplyForwardAdd reaction



प्रतिक्रिया दिनुहोस्