काठमाडौं, ४ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले दिगो विकासको लागि पनि जलवायु परिवर्तन ठूलो चूनौति भएको भन्दै सबैले मिलेर यसको न्यूनीकरण गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (शुक्रबार) काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासबारे उच्चस्तरीय सांसदहरुको फोरम’ लाई सम्बोधन गर्दै मन्त्री महतोले यस्तो आवश्यकत्ता औंल्याएका हुन् ।
उनले भने,‘जलवायु परिवर्तन र दिगो विकास एक अर्कासँग जोडिएको विकास हो । अहिले पूरा विश्वका लागि नै जलवायु परिवर्तन नयाँ चूनौति भएर उभिएको छ । यसविरुद्ध सबैले सामूहिक रुपमा एकद्धार प्रणालीमा लड्नुपर्ने छ । जलवायु परिवर्तनले अर्थतन्त्र, पर्यावरण र मानवलाई पनि असर पारेको छ। जलवायु परिवर्तनका असरलाई कम गर्नको लागि अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेछ ।’
मन्त्री महतोले नेपाल जलवायु परिवर्तनको असरबाट प्रताडित मुलुक रहेको उल्लेख गर्दै विकास गर्दापनि वातावरण र प्रकृतिमैत्री भएर गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘यदि त्यसो गर्न सकिएन भने त्यो दिगो विकास हुँदैन् । जलवायु परिवर्तनका असर जुन हामीले भोगिरहेका छौं, आजको दिनमा जलवायु परिवर्तन भनेको वातावरणीय समस्यामात्र नभएर यो दिगो विकासको लागि पनि ठूलो चूनौति भएको छ । नेपालको ४५ प्रतिशत भूभाग जंगलले ओगटेको छ । दिगो विकासका लक्ष्य प्राप्त गर्नको लागि वनले ठूलो भूमिका खलेको छ ।’