Logo

बुलबुले तालको झार हटाइँदै, डुंगा चलाउने तयारी



सुर्खेत, फागुन ५ । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले डुंगा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो।

ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ। त्यहीँ बजेटबाट समितिले काम थालेको हो। डुंगा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगत्तै डुंगा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिए।

पाँच वर्षका लागि डुंगा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुंगा चलाइने उनले बताए। नगरप्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्त्व बढ्ने बताए।

उनले भने, ‘बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर डुंगा सञ्चालन गछौं।’ उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए।

साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो। कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ।

विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ। रासस



प्रतिक्रिया दिनुहोस्