काठमाडौं, ५ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नको लागि सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । उनले वन्यजन्तु मानव बस्तीमा पस्न थालेको सुनाउँदै यसले भोलि विकराल समस्या निम्त्याउनेपनि खतरा औंल्याए । अहिलेपनि बाँदर र बँदेलजस्ता वन्यजन्तु मानव बस्तीमा आउँदा किसानहरु मारमा पर्न थालेको भन्दै भोलि यही अवस्था रहे नेपाल कृषिप्रधान देश पनि नरहने मन्त्री महतोको चिन्ता थियो ।
वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्धारा राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एक दिवसीय सम्मेलनमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् । उनले भने,‘नेपालमा हामीले भोगिरहेका समस्या र विषयमा जबसम्म गहन रुपमा भित्र छिर्न सक्दैनौं, अनि समाधान गर्ने उपाय निकाल्न सक्दैनौं यसमा विश्वका उदाहारण दिएर हुँदैन् । पहिले यहाँको समस्या हामीले समाधान गर्नुपर्छ ।’
मन्त्री महतोले वन्यजन्तुको अवैध शिकार र वेचविखन (पोचिङ) अहिले शून्य प्रतिशतमा झरेको सुनाए । उनले भने,‘एक वर्ष, दुई वर्ष, पाँच वर्षमा फाट्टफुट्ट यस्ता घट्ना सुनिएको छ । तरपनि यसमा योजना बनाउने मुख्य मान्छे समातिएका छैनन् । भरियामात्र समातिएका छन् ।’
मन्त्री महतोले अहिलेको समयको ठूलो समस्या नै मानव र वन्यजन्तुबीचको द्वन्द्व भएको उल्लेख गर्दै यसलाई सबैले गम्भीर रुपमा पहलकदमी लिएर न्यूनीकरण गर्नुपर्ने बताए। उनले भने,‘हामी सानो हुँदा हिमचितुवा हिमालयमा पाउँछ भनेर पढेको हो । अहिले तराईमा पनि पाउन थालेको छ । अस्ति भर्खरै विराटनगरमा हिमचितुवा समातियो र चिडियाखानामा राखिएको छ । यो जलवायु परिवर्तनको असर हो ।’
उनले नेपालले अन्तर्राष्ट्रिय फोरममा पनि विभिन्न प्रतिबद्धता गरेको र ती प्रतिबद्धता पूरासमेत गरेको सुनाए । जनावरको संख्या वृद्धि गर्ने सवालमा पनि विश्व फोरममा गरिएको प्रतिबद्धता पूरा गरेको भन्दै बाघको संख्या दोब्बर बनाएको उदाहरण दिए ।
उनले भने,‘हामी जनावरको यति संख्या बढाउँछौं भनेर प्रतिबद्धता गर्छौ । संरक्षणको पाटो भने हामीले बिर्सिएका छन् । मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरण गर्नको लागि न्यायपालिकाको तर्फबाट होस वा संरक्षणको तर्फबाट वा सुरक्षाको तर्फबाट होस सहयोग पाएका छौं । अब मानव संवेदनशीलता हेरेर हामीले बुझ्नुपर्छ । झापाको कुरा गर्दा हात्ती हिँड्ने बाटोमा घर बनेका छन् । तर, ती घर बनेको जग्गाको लालपूर्जा छैनन् । त्यो नेपाल सरकारको जग्गा हो । निकुञ्जको कुरा गर्दापनि जनावरलाई त अझै ठाउँ चाहिएको छ । जनावरको संख्या बढेको छ । तर, ठाउँ सानो छ । यस्तो अवस्थामा जनावर त बाहिर आउँछ नि । निकुञ्ज आसपासमा बस्ती बसेको छन् ।’ उनले चुनावको बेलामा नेताहरुले गलत आश्वासन दिँदा यस्तो समस्या थपिएको सुनाए ।
मन्त्री महतोले हालै दुवईमा सम्पन्न कोप–२८ मा नेपालको मुद्दा खासगरी हिमालय पग्लिने कुरा विश्व मञ्चमा राख्न सफल भएको स्मरण गराए । उनले भने,‘कोप–२८ को कुरा गर्दा नेपालबारे विश्वको ध्यानाकार्षण भएको छ । अब हिमाल सफाई गर्ने कुरामा ध्यान दिनुपर्छ । हिमाल आरोहणको लागि अनुमति दिएका छौं । तर, सफाईको पाटोमा केही कमजोरी छ । यसमा गम्भीर हुनुपर्छ ।’
वन मन्त्रालयले अहिले वन्यजन्तु नियन्त्रणसम्बन्धी ऐन–२०८० ल्याएको सुनाउँदै यत्तिले मात्रै नपुग्ने महतोले औंल्इाए । उनले भने,‘हरेक वर्ष, हरेक महिनामा झापामा हात्तिबाट ४ जना मरिन्छ । हरेक वर्ष बर्दियामा बाघको आक्रमणबाट ७÷८ जना मारिएका छन् । बाँदर, बँदेल नियन्त्रण कसरी गर्ने ? यो नियन्त्रण गर्न सकिएन भने भोलि कृषिप्रधान देश रहन्छ र ? बाँदर बन्ध्याकरण वा एक्सपोर्ट गर्ने हो कि । अब नयाँ कुरा आउँदा संरक्षणको तह र मिडियामा विरोध सुरु हुन्छ, मानव ठूलो कि बाँदर ? भन्ने पनि बहस हो नि । अब केही न केही त गर्नुपर्छ ।’