Logo

आज तेस्रो पटक विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव



काठमाडौं, फागुन ६ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिदै छन् । जनता समाजवादी पार्टीबाट प्रदेश मुख्यमन्त्री चुनिएका उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । विश्वासको मत लिनका लागि आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। सोही बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मतका लागि दलहरुसमक्ष प्रस्ताव गर्ने छन्।

दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले माघ ९ गते सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवसँग स्पष्ट बहुमत छ। १०७ सदस्य रहेको मधेस प्रदेशमा बहुतका लागि ५४ सांसद आवश्यक पर्छ। तर मुख्यमन्त्री यादवलाई ९४ सांसदको समर्थन कायम रहेको छ।



प्रतिक्रिया दिनुहोस्